top of page

म एक देवी हुँ।

Updated: Jul 16, 2024

म एक देवी हुँ।

किन कसरी मलाई थाहा भएन तर मानिसहरूले मलाई यसरी नै चिन्ने गर्दछन्।

सत्तैमा विक्रिने मेरा प्रसदहरु, नोट र सिक्का साटेर किन्छन्।

आखिर म पनि एक कुँदिएको ढुंगा त हुँ,

जसलाई शक्ति को वस्त्र बनाइने छ

र जसका अगाडि प्रार्थनाहरु ओच्छ्याइने छ।

तर तिमी यी तिता सत्यहरु थुक्दै नहिँड्नु,

मेराे नामले दुनियाले तिमीलाई सराप्ने छ।

ढुङ्गालाई त कुँदेर देवी देवताको नाममा चिनाउन सकिन्छ भने,

तिमीलाई आफ्नै शरीरमा भएको हाड घोटेर "म मानिस हुँ" भनेर चिनाउन कत्ती नै गारो होला र?

तिमीले देखाएको बत्ती, तिमीले चढाएको सम्पत्ति,

तिमीले सुनाएको पीडा र खुवाएको पेडा,

यी सबै सामग्री मैले छोएर मात्र तिम्रो सबै समस्याको समाधान हुने हो र?

म एक देवी हुँ।

कहिलेकाहीँ अरूको दुःख सुन्न र त्यो दुःखमाथि अर्को दुःख थोपर्न मेरो कर्म हुन्छ।

त्यो भन्दा पनि बेसी, तिम्रा सपनाहरु पूरा नभएमा, लान्छना दलिने मेरो काली चर्म हुन्छ।

म एक देवी हुँ।

देवीहरु न रातमा निदाउँछन्, न पैतालाले भुइँमा टेक्छन्।

करिब ती थाकेका तीन नेत्रले दुनियाको पीडा मात्र देख्छन्।

म एक देवी हुँ।

म एक निर्दोष, सोझो, शान्ति प्राणी,

अफसोस तिमीलाई तह लगाउन सक्ने एक देहि हुँ।

म एक देवी हुँ।

コメント


Untitled

Read and Change

  • Facebook
  • Instagram

© 2023 Lekha

bottom of page